पियोर इनर्जीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गर्यो
Author
NEPSE trading

पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि उपलब्ध गराएको हो।
कम्पनीका अनुसार यो निष्काशनमा आवेदन दिने अन्तिम मिति २०८२ वैशाख २ गतेसम्म तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर निष्काशन गरिसकेको छ।
पियोर इनर्जीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। जसमध्ये ८० प्रतिशत संस्थापकहरूको स्वामित्वमा छ भने बाँकी २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। गोल्यान ग्रुपअन्तर्गत सञ्चालित यो सोलार कम्पनीले बाँके जिल्लामा १० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि व्यावसायिक उत्पादन शुरू गरिसकेका छन्।
कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हाल नेपालमा सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी बनेको छ। यो आईपीओले लगानीकर्ताहरूलाई नवीकरणीय ऊर्जा क्षेत्रमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै कम्पनीको विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।