रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयर
Author
NEPSE TRADING

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीका अनुसार प्राप्त भएका सबै आवेदनहरू स्वीकृत भएका छन् ।
मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडअनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
बाँडफाँडपछि शेष रहेका ४६ कित्ता सेयर भने सोही लगानीकर्ताहरूलाई थप एक कित्ताका दरले वितरण गरिएको छ । यसअनुसार २ हजार ३११ जना मध्ये ४६ जनाले ५१ कित्ताका दरले रिलायन्स स्पिनिङ मिल्सको सेयर प्राप्त गरेका छन् ।
आईपीओ बाँडफाँड सम्पन्न भएसँगै अब कम्पनीको सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने लगानीकर्ताहरूको अपेक्षा रहेको छ ।



