आन्ध्र प्रदेशमा ११ अर्ब डलरको एआई मेगा प्रोजेक्ट: रिलायन्स समूहको विशाल लगानी, भारत एआई हब बन्दै
Author
NEPSE TRADING

भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदारहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनममा ११ अर्ब डलर बराबरको विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्ने भएको छ। राज्य सरकारले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यस गिगा–स्तरको एआई केन्द्र एक गिगावाट क्षमतामा सञ्चालन हुनेछ।
यसअघि गुगलले पनि यही शहरमा १५ अर्ब डलर बराबरको डेटा–सेन्टर तथा एआई संरचना विकास गर्ने योजना घोषणा गरिसकेको छ, जुन अमेरिकाबाहिर कम्पनीको सबैभन्दा ठूलो परियोजना मानिन्छ।
रिलायन्स, क्यानडास्थित ब्रुकफिल्ड र अमेरिकाको डिजिटल रियल्टीबीचको संयुक्त लगानीमा बन्ने यो परियोजनाले आन्ध्र प्रदेशलाई उन्नत डिजिटल पूर्वाधार र भविष्यका हाइ–परफर्मेन्स कम्प्युटिङ प्रविधिको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने राज्य सरकारले जनाएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले सामाजिक सञ्जालमा लेख्दै भने,
“यो लगानीले रोजगारी, नयाँ प्रविधि विकास र विश्वस्तरीय लगानी आकर्षित गर्ने प्रक्रियामा ठूलो फड्को मार्नेछ।”
भारतमा एआई प्रविधिको माग तीव्र गतिमा बढिरहेको छ। यस वर्षअन्त्यसम्म इन्टरनेट प्रयोगकर्ता ९० करोडको नजिक पुग्ने अनुमान गरिएको छ, जसका कारण ठूलो मात्रामा डिजिटल डेटा, ऊर्जा–खपत र कम्प्युटिङ क्षमता आवश्यक पर्ने एआई संरचनाहरूको माग उच्च भएको छ।
यसैबीच, अमेरिकी एआई कम्पनीहरूले पनि भारतमा निरन्तर विस्तार गरिरहेका छन्। अक्टोबरमा एआई कम्पनी ‘एनथ्रोपिक’ ले भारतमा कार्यालय खोल्ने घोषणा गर्दै प्रमुख दारियो अमोडेईले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। ओपनएआईले पनि भारतमा कार्यालय विस्तारको तयारी गरिरहेको छ, जसमा संस्थाका प्रमुख साम आल्टम्यानले च्याटजीपीटी प्रयोग भारतमा चार गुणा वृद्धि भएको बताए।
साथै, एआई कम्पनी ‘पप्र्लेक्सिटी’ ले भारतीय टेलिकम कम्पनी ‘एयरटेल’सँग साझेदारी गर्दै ३६ करोड ग्राहकलाई एक वर्षसम्म निःशुल्क प्रिमियम सेवा उपलब्ध गराउने घोषणा गरिसकेको छ।
भारतमा तीव्र रूपमा बढ्दै गएको एआई लगानी र संरचना विस्तारका गतिविधिले देशलाई विश्वकै प्रमुख एआई हबको दिशातर्फ अघि बढाइरहेको विश्लेषकहरूले जनाएका छन्।



