बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव
Author
NEPSE trading

बाफिया (बैंक तथा वित्तीय संस्था ऐन) संशोधन प्रस्तावसँगै बजारमा फेरि तरंग देखिएको छ। बैंकर र व्यवसायीबीचको भूमिकालाई छुट्याउने विषयले शेयर बजारमा अनिश्चितता थपेको छ। लगानीकर्ताहरूबीच अन्योल बढ्दै जाँदा बजारमा नराम्रो असर देखिन थालेको छ।
यो विषय नयाँ भने होइन। वर्षौं अघिदेखि चर्चामा आइरहेको यो विषयले विगतमा पनि पटक–पटक बजारमा अस्थिरता ल्याएको थियो। तर समयसँगै यो मुद्दा सेलाउने गरेको इतिहास पनि छ। तर, पछिल्लो समय बाफियाको संशोधन विधेयक संसदमा दर्ता हुन लागेको खबरसँगै लगानीकर्ताहरू फेरि सतर्क बनेका छन्।
बजेटपछिको आशामा केही समय राहत देखिएको नेप्से परिसूचक पछिल्ला दुई दिनदेखि फेरि दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार ३५ अंकले घटेको सूचक बुधबार पुनः ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा झरेको छ। बजारमा लगातार गिरावट आउनुमा बाफियाले निम्त्याएको मनोवैज्ञानिक प्रभावसमेत समावेश रहेको विश्लेषकहरू बताउँछन्।
बाफियाले बैंकरलाई व्यवसायिक संलग्नताबाट रोक्न खोज्दा धेरै बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा सञ्चालक समितिका सदस्यहरू प्रभावित हुन सक्ने देखिन्छ। जसको सीधा असर ती कम्पनीका शेयरमा पर्न सक्ने भएकाले लगानीकर्ताहरू सुरक्षित बाटो रोज्न थालेका छन्।
गभर्नरको नियुक्तिमा भएको ढिलाइ, बजेटमा शेयर बजारसम्बन्धी स्पष्ट र प्रभावकारी कार्यक्रमको अभाव, र बाफियाको अनिश्चित प्रस्तावले गर्दा बजारमा विश्वासको वातावरण बनिनसकेको अवस्था देखिन्छ।
विश्लेषकहरूका अनुसार यस्ता नीतिगत अन्योलताले बजारमा अल्पकालीन असर त पार्छ नै, दीर्घकालीन सुधारका लागि भने सरकार र नियामक निकायको स्पष्टता, पारदर्शिता र प्रतिबद्धता अत्यावश्यक छ। लगानीकर्ताको मनोबल बलियो बनाउन नीति, निर्देशन र व्यवहारमा स्थिरता ल्याउनु आजको मुख्य आवश्यकता बनेको छ।