कुलमान घिसिङको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
Author
NEPSE trading

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै सरकारलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट दायर गरेका थिए। अदालतले दुवै पक्षलाई छलफलका लागि चैत १७ मा बोलाएको छ भने अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय लिनेछ।
आदेशमा भनिएको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आधार, कारण र प्रमाण भए १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुहोला।”
गत सोमबार मन्त्रिपरिषद्को बैठकले चार महिना कार्यकाल बाँकी रहँदै घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।