ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने आदेशमा हस्ताक्षर, विरोधको तयारी
Author
NEPSE trading

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहमा विद्यार्थीहरूको उपस्थितिमा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णयले अमेरिकी इतिहासमा पहिलो पटक कुनै मन्त्रालय खारेज गर्ने राष्ट्रपति बनेर ट्रम्प चर्चामा आएका छन्।
ट्रम्पले शिक्षा मन्त्रालयले अर्बौं डलर खर्च गरे पनि अपेक्षित नतिजा दिन नसकेको भन्दै यसको खारेजी प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन दिएका छन्। साथै, उनले मन्त्री मिकमेहनलाई राजीनामा दिन सुझाव दिएका छन्। ह्वाइट हाउसले संघीय सरकारको शिक्षा क्षेत्रमा गरेको खर्बौं डलरको लगानी प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।
राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा नै शिक्षा मन्त्रालय खारेज गरी यसको जिम्मेवारी राज्य र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए। उनको यो कदमले सोही वाचा पूरा गर्ने प्रयासको रूपमा हेरिएको छ। तर, अमेरिकी संसद्ले यो आदेशलाई अस्वीकृत गर्न सक्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
यसैबीच, शिक्षक महासंघ र डेमोक्र्याटिक पार्टीका सांसदहरूले ट्रम्पको यो निर्णयको कडा विरोध गरेका छन्। उनीहरूले यो आदेशविरुद्ध अदालत जाने तयारी गरिरहेको बताएका छन्। विरोधकर्ताहरूले मन्त्रालय खारेज गर्दा शिक्षा क्षेत्रमा ठूलो संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।
यो घटनाले अमेरिकी राजनीति र शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। आगामी दिनमा संसद् र अदालतको निर्णयले यसको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।