·

युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावित

Author

NEPSE TRADING

युनिलिभर नेपालको नाफा ४३% ले घट्यो, बिक्री आम्दानीमा आएको कमीले परिणाम प्रभावित

युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ प्रतिशत नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा यस अवधिमा ३० करोड रुपैयाँ मा सीमित भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो।

नाफामा आएको ठूलो गिरावटको प्रमुख कारण कम्पनीको बिक्री तथा सञ्चालन आम्दानीमा आएको कमी हो। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ आम्दानी भए पनि यस वर्ष सोही आम्दानी घटेर २ अर्ब रुपैयाँमा खुम्चिएको विवरणमा उल्लेख छ।

यता, कम्पनीको कुल खर्च भने सामान्य रूपमा बढेको छ। गत वर्ष १ अर्ब ६३ करोड रुपैयाँ रहेको खर्च यो वर्ष बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। कच्चा पदार्थको लागत बढ्नु यस खर्च वृद्धि‍को मुख्य कारण मानिएको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। पहिलो त्रैमासमा EPS ३२६ रुपैयाँ मात्र रहेको छ भने कम्पनीको वार्षिक EPS १,८८४ रुपैयाँ छ। गत वर्ष यसै अवधिमा वार्षिक EPS २,०९६ रुपैयाँ थियो, जसले कम्पनीको नाफा क्षमतामा आएको दबाब झल्काउँछ।

यसैबीच, कम्पनीको प्रतिसेयर नेटवर्थ भने वृद्धि भएको छ। गत वर्ष ५,८३६ रुपैयाँ रहेको नेटवर्थ यो वर्ष बढेर ६,०३३ रुपैयाँ पुगेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनिलिभर नेपालको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

सेयर बजारमा युनिलिभर नेपाललाई सबैभन्दा उच्च मूल्य भएको कम्पनीका रूपमा चिनिन्छ। हाल यसको सेयर मूल्य प्रतिकित्ता ४६ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

Related News