·

अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू

Author

NEPSE TRADING

अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू

अमेरिकाले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आधिकारिक घोषणा गरेको छ। मंगलबार जारी आदेशअनुसार भारतीय समय अनुसार यो नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू हुने भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अगस्ट ६ मा रुसबाट तेल खरिदको जरिवाना स्वरूप उक्त शुल्क घोषणा गरेका थिए। साथै, अगस्ट ७ देखि व्यापार घाटालाई कारण देखाउँदै भारतबाट आउने सामानमा २५ प्रतिशत कर थपिएको थियो। यससँगै अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर दर ५० प्रतिशतसम्म पुग्नेछ।

नयाँ आदेशमा उल्लेख भएअनुसार सूचीमा रहेका वस्तुहरूमा यो कर लागू हुनेछ। ती वस्तुहरू प्रत्यक्ष प्रयोगका लागि अमेरिका ल्याइएका वा गोदामबाट निकालिएका दुवै अवस्थामा लागू हुने जनाइएको छ।

विशेषज्ञहरूका अनुसार यस निर्णयले भारतीय गहना, कपडा, अटोमोबाइल र समुद्री खानाजस्ता उद्योगहरूको नाफा घटाउनेछ। अमेरिकासँग व्यापार सम्झौता नभए वा भन्सार शुल्क नघटाए करिब ४८ अर्ब अमेरिकी डलर बराबरको भारतीय निर्यात प्रत्यक्ष असरमा पर्नेछ।

तर, आईटी, औषधि र इलेक्ट्रोनिक उद्योग भने यस करको दायरामा पर्दैनन्। इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएकाले स्मार्टफोन जस्ता उत्पादनमा तत्काल असर नपर्नेछ। फार्मास्युटिकल उत्पादनमा हाल शून्य प्रतिशत कर कायम छ, यद्यपि ट्रम्पले आगामी १८ महिनाभित्र ट्यारिफ बढाउने चेतावनी दिएका छन्।

एनबीसीको रिपोर्टअनुसार भारतबाट अमेरिकामा सबैभन्दा धेरै गहना, कपडा, मेसिनरी र रसायन निर्यात हुन्छन्। ५० प्रतिशतसम्मको नयाँ ट्यारिफले यी वस्तुहरू अमेरिकामा महँगो बनाउने भएकाले अर्डरमा कमी आउने सम्भावना छ। अर्डर घट्दा उत्पादन कटौती गर्नुपर्ने र त्यसले रोजगारीमा कटौती (लेअफ) हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन्। तर, कुन क्षेत्रमा कति रोजगारी गुम्ने हो भन्नेबारे यकिन अनुमान अझै गर्न सकिएको छैन।

Related News