मनी लन्ड्रिङको दोषी भियतनामी रियल स्टेट टाइकुन ट्रुङ माई लानको अपिल सुरु
Author
NEPSE trading

मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुन ट्रुङ माई लानको अपिल मङ्गलबारदेखि सुरु भएको छ। ६८ वर्षीया लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैङ्क (एससिबी) बाट पैसा चोरी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले उक्त फैसलाविरुद्ध अपिल गरेकी थिइन्, तर अदालतले सजाय घटाउने कुनै आधार नभएको बताएको थियो। यद्यपि, चोरी गरिएको सम्पत्तिको तीन चौथाइ फिर्ता गरेमा मृत्युदण्डबाट बच्न सक्ने अदालतको भनाइ थियो।
अक्टोबरमा भएको दोस्रो मुद्दामा लानलाई मनी लन्ड्रिङ र अन्य अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो। हाल उनी त्यही फैसलाविरुद्ध अपिल गरिरहेकी छन्। राज्य मिडियाका अनुसार यो अपिल अप्रिल २१ (वैशाख ८, २०८२) सम्म चल्नेछ र उनको बचाउमा आठ वकिलले बहस गर्नेछन्। लानलाई १७ अर्ब ७० करोड डलर मनी लन्ड्रिङ, ४ अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबार र १ अर्ब २० करोड डलर ठगी गरेको अभियोगमा दोषी ठहर गरिएको छ।
मङ्गलबार हो ची मिन सिटीको अदालतमा सुरु भएको उच्च–प्रोफाइल सुनुवाइमा लान प्रहरी अधिकारीहरूसँग कुराकानी गर्दै सहज देखिएकी थिइन्। प्रहरीको घेरामा उनकी भतिजी पनि उपस्थित थिइन्, जसलाई अक्टोबरमा सम्पत्ति ठगीको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। लानका पति चु न्याप कीले भने मनी लन्ड्रिङको दुई वर्षको सजाय स्वीकार गरेका छन् र उनी यो सुनुवाइमा उपस्थित भएका छैनन्।
अदालतले लानलाई ‘मुख्य योजनाकार’ को संज्ञा दिएको छ। “उनले परिष्कृत तरिकाले पटक–पटक अपराध गरिन्, जसले गम्भीर परिणाम निम्त्यायो,” अदालतको ठहर छ। यो मुद्दामा अन्य ३३ अभियुक्तलाई पनि २ देखि २३ वर्षसम्मको जेल सजाय सुनाइएको थियो, जसमध्ये २७ जनाले सजायविरुद्ध अपिल गरेका छन्।
पहिलो सुनुवाइमा लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहर गरिएको थियो। तर अभियोजन पक्षले यो ठगीले २७ अर्ब डलरको क्षति पुर्याएको दाबी गरेको छ, जुन भियतनामको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत हो। लानसँग एससिबीमा कागजी रूपमा ५ प्रतिशत मात्र सेयर रहे पनि अदालतले उनले परिवार, साथी र कर्मचारीमार्फत ९० प्रतिशत नियन्त्रण गरेको निष्कर्ष निकालेको छ।
यस ठगीबाट बैंकमा बचत राख्ने दशौँ हजार व्यक्तिले आफ्नो पैसा गुमाएका छन्। यसले भियतनामको साम्यवादी सरकारलाई स्तब्ध बनाएको छ भने पीडितहरूले दुर्लभ विरोध प्रदर्शन गरेका थिए। लानको यो मुद्दा भियतनामको इतिहासमा सबैभन्दा ठूलो वित्तीय घोटाला मानिएको छ।