एपोलो हाइड्रोपावरको स्थानीय आईपीओ आवेदन म्याद चैत १० सम्म थप
Author
NEPSE TRADING

एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले फागुन ११ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिशेयर १०० रुपैयाँ दरमा निष्कासन गरिएको हो।
स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई बाँडफाँट गरिनेछ। त्यस्तै ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दालाई वितरण गरिनेछ। बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले “CARE-NP BB-” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
एपोलो हाइड्रोपावरले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण लागत करिब १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउन्टेड फिर्ता अवधि १६.४३ वर्ष रहेको बताइएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजिदेम्बा शाखा तथा सिटिजन्स बैंकको लिखुपिके शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।




