·

निर्यातको बलमा चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्यो, वर्षको अन्त्यमा वृद्धिदर सुस्त

Author

NEPSE TRADING

निर्यातको बलमा चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्यो, वर्षको अन्त्यमा वृद्धिदर सुस्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले लगाएका आयात कर र व्यापारिक दबाबबीच पनि चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको छ। तर वर्षको अन्तिम त्रैमासिकमा आर्थिक गति भने सुस्तिँदै ४.५ प्रतिशतमा झरेको छ, जसले आगामी दिनका चुनौतीलाई संकेत गरेको छ।

चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स का अनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा अर्थतन्त्र केवल १.२ प्रतिशतले बढ्यो। यो सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक प्रदर्शन हो। यसअघि तेस्रो त्रैमासिकमा ४.८ प्रतिशतको वृद्धि देखिएको थियो। यद्यपि समग्र वार्षिक वृद्धिदर भने सरकारले तोकेको ‘करिब ५ प्रतिशत’ को लक्ष्यसँग मेल खान पुगेको छ।

चीनको आर्थिक विस्तारमा यस वर्ष निर्यात मुख्य आधार बनेको देखिन्छ। कमजोर उपभोक्ता खर्च र निजी लगानीको असरलाई बलियो निर्यातले सन्तुलनमा राख्दा चीनले सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलर बराबरको रेकर्ड व्यापार अधिशेष कायम गर्न सफल भएको सरकारी तथ्याङ्कले देखाएको छ। तर अमेरिकातर्फको निर्यात भने अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले घटेको छ।

सरकारी अधिकारीहरूका अनुसार अमेरिका केन्द्रित निर्यात घटे पनि युरोप, एशिया र विकासोन्मुख मुलुकतर्फको ढुवानी बढेकाले समग्र निर्यातमा ठूलो धक्का लाग्न पाएन। यसै सन्दर्भमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच व्यापार युद्धमा अस्थायी युद्धविराम विस्तार गर्ने सहमतिले निर्यातमाथिको दबाब केही हदसम्म कम भएको विश्लेषण गरिएको छ।

तर अर्थशास्त्रीहरूले निर्यातमा अत्यधिक निर्भर वृद्धिको दीर्घकालीन स्थायित्वप्रति शंका व्यक्त गरेका छन्। डच बैंक आइएनजी का ग्रेटर चीन प्रमुख अर्थशास्त्री लिन सङका अनुसार अन्य मुलुकहरूले पनि चीनमाथि आयात शुल्क बढाएमा अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ। “निर्यात अहिले सहारा बनेको छ, तर यो स्थायी समाधान होइन,” उनको भनाइ छ।

घरेलु अर्थतन्त्रतर्फ हेर्दा रियल स्टेट क्षेत्रमा लामो समयदेखि देखिएको मन्दी र महामारीपछिको कमजोरी अझै हट्न सकेको छैन। घरेलु माग बढाउन सरकारले अघि सारेका ऊर्जा–दक्ष सवारीसाधन साटफेर कार्यक्रम र घरेलु उपकरणमा दिइएका सब्सिडीहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको विश्लेषकहरूको निष्कर्ष छ।

बीएनपी परिबास एसेट म्यानेजमेन्ट का वरिष्ठ रणनीतिकार ची लोका अनुसार सम्पत्ति बजार स्थिर नभएसम्म उपभोग र निजी लगानीमा उल्लेखनीय सुधार आउन कठिन छ। “घरजग्गा बजारमा भरोसा फर्किएपछि मात्र आम नागरिकले खर्च बढाउने सम्भावना देखिन्छ,” उनले बताएका छन्।

यसैबीच कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिमा लगानी चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख प्राथमिकतामा रहे पनि रोजगारी र आम्दानीको अनिश्चितताले आम नागरिक र साना व्यवसाय दबाबमा छन्। उच्च प्रविधिमा केन्द्रित वृद्धिले तत्काल सर्वसाधारणको जीवनस्तर सुधार नगरेको टिप्पणी पनि सुनिन थालेको छ।

नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सका प्रमुख काङ यीले धेरै चुनौतीबीच पनि सन् २०२५ मा अर्थतन्त्रले ‘स्थिर प्रगति’ कायम राखेको दाबी गरेका छन्। तर केही अन्तर्राष्ट्रिय विश्लेषकहरूले वास्तविक वृद्धि दर सरकारी तथ्याङ्कभन्दा कम हुन सक्ने अनुमान गरेका छन्।

विश्लेषकहरूका अनुसार सामाजिक स्थिरता कायम राख्न चीनले दीर्घकालसम्म ४ देखि ५ प्रतिशत वार्षिक आर्थिक वृद्धि कायम राख्नुपर्नेछ। यही पृष्ठभूमिमा डाएचे बैंक ले सन् २०२६ मा चीनको अर्थतन्त्र केवल ४.५ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ, जसले आगामी वर्षहरूमा चीनका नीति निर्माता लागि चुनौती अझै बढ्ने संकेत गर्छ।

Related News