·
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
Author
NEPSE TRADING

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।सभामुख पदका लागि गत शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको थियो। सो दिन अर्यालको मात्रै उम्मेदवारी परेको थियो। प्रतिनिधिसभा नियमावलीअनुसार एक जनाको मात्रै उम्मेदवारी परेको अवस्थामा प्रस्तावक र समर्थक सदस्यले बोलेपछि सभाको अध्यक्षता गरिरहेका सदस्यले उक्त उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गर्ने व्यवस्था रहेको छ।प्रतिनिधिसभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमत रहेका कारण अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बुझिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्।सभामुख चयन भएसँगै अब उपसभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ। तर, एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था रहेको छ।निर्वाचित सभामुखले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ। त्यसैगरी उपसभामुखले भने राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ लिनेछन्।सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुखको चयनलाई समेत महत्वपूर्ण रूपमा हेरिएको छ। नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ।



