·

होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला

Author

NEPSE TRADING

होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन क्षेत्रको उपस्थिति थप सुदृढ बनाउँदै अर्को पाँचतारे होटल कम्पनी होटल फरेष्ट इन लिमिटेड ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ ४ गतेदेखि आईपीओ खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।

हाल नेपाल स्टक एक्सचेन्ज अन्तर्गत होटल तथा पर्यटन समूहमा सात वटा कम्पनी सूचीकृत छन्। तीमध्ये चार वटा पाँचतारे होटल सञ्चालन गर्ने कम्पनी हुन् भने बाँकी रिसोर्ट तथा केबलकार व्यवसायसँग सम्बन्धित छन्। नेप्सेमा सूचीकृत सोल्टी होटल, तारागाउँ रेजेन्सी होटल (ह्यात रिजेन्सी), ओरिएन्टल होटल्स (होटल र्‍याडिसन) र सिटी होटल यही समूहअन्तर्गत पर्छन्। पर्यटनसँग प्रत्यक्ष जोडिएको यो समूह संख्या कम भए पनि लगानीकर्ताको चासो सधैं उच्च रहने क्षेत्रका रूपमा लिइन्छ।

३ अर्ब ५७ करोड लागतको पाँचतारे होटल परियोजना

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको लगानीमा सञ्चालित होटल फरेष्ट इन लिमिटेडको निर्माणमा कुल ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ लागत लागेको छ। यसमध्ये २ अर्ब १२ करोड रुपैयाँ बैंक ऋण, १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ भने बाँकी रकम आईपीओमार्फत जुटाइने कम्पनीको योजना छ।

होटलमा १ सय ५ वटा कोठा रहेका छन्। साथै फुड एन्ड बेभरेज सेवा, कन्फरेन्स तथा बैक्वेट हल, स्पा लगायतका आधुनिक सुविधा उपलब्ध छन्। होटल काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अवस्थित छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दूरीमा पर्दछ। बूढानीलकण्ठ धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।

होटलको व्यवस्थापन विश्वप्रसिद्ध अमेरिकी होटल चेन InterContinental Hotels Group अन्तर्गतको मिडस्केल अन्तर्राष्ट्रिय ब्रान्ड Holiday Inn ले सम्हालेको छ। आईएचजी अन्तर्गत हाल विश्वभर १,२३४ वटा होलिडे इन होटल सञ्चालनमा रहेका छन् भने २८७ वटा होटल पाइपलाइनमा छन्।

सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय दीपक खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। उनले ताप्लेजुङ र रसुवामा तीन वटा जलविद्युत आयोजनामा पनि लगानी गरेका छन्।

होटल फरेष्ट इन लिमिटेड सन् २०१० मा स्थापना भएको हो। आईपीओ निष्काशनको तयारीस्वरूप सन् २०२३ मा पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको कम्पनी गत वर्ष असार महिनादेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

Related News