दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य
Author
NEPSE TRADING

पुस ३० गते बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको मूल्यक्रमले यस दिन फेरि ऐतिहासिक उचाइ छोएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज त्यसलाई ब्रेक गर्दै नयाँ उच्च विन्दुमा पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो रेकर्डलाई तोड्दै चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ।
लगातारको मूल्य वृद्धिले गहना व्यवसायी र उपभोक्तामा चासो बढाएको छ भने अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्ति सन्तुलनले मूल्यमा दबाब सिर्जना गरिरहेको विश्लेषण गरिएको छ।


