·
कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता शेयर बिक्रीमा
Author
NEPSE TRADING

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि वितरण भइसकेको छ। बाँकी सेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ भने बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।प्रति कित्ता १०० रुपैयाँ अंकित दर रहेको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार छिटोमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मागअनुसार वैशाख ६ गतेसम्म म्याद थप हुन सक्नेछ।कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड रुपैयाँभन्दा बढी रहेको यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २९ वर्षभन्दा बढी अवधि बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण अवस्थामा लगानी फिर्ता अवधि ९.१९ वर्ष रहेको छ भने छुटदरमा गणना गर्दा यो अवधि १५.३६ वर्ष पुग्ने देखिएको छ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा RBB Merchant Banking Limited रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने MeroShare प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित सार्वजनिक निष्काशनमा आएको कम्पनीको आईपीओप्रति लगानीकर्ताको चासो कस्तो रहन्छ भन्नेमा बजारको ध्यान केन्द्रित भएको छ।




