सरकारी चेक भुक्तानीमा राष्ट्र बैंकको कडाइ, नयाँ प्रावधान लागू
Author
NEPSE TRADING

काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने भुक्तानी प्रणालीमा थप कडाइ गर्दै नयाँ प्रावधान लागू गरेको छ। केन्द्रीय बैंकले ‘सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)’ अन्तर्गत परिच्छेद ५ को दफा ५.१६.१ कार्यान्वयनका लागि थप व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी खाताबाट हुने सबै भुक्तानी वित्तीय भुक्तानी प्रणालीमार्फत वा ‘अकाउन्ट पेयी’ चेकमार्फत मात्र गर्नुपर्नेछ। राष्ट्र बैंकले समय–समयमा जारी गर्ने निर्देशनअनुसार यी व्यवस्थाहरू परिमार्जन हुन सक्ने उल्लेख गरेको छ।
नयाँ प्रावधानअनुसार नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्नेछ। त्यस्तै, कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालयले आफैं खातामा जम्मा गर्न पठाउँदा बैंकको पछाडि कार्यालयको स्पष्ट छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ। तर सोही चेक अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले खातामा जम्मा गर्दा भने छाप आवश्यक नहुने व्यवस्था गरिएको छ। क्लियरिङमार्फत प्राप्त चेकको रकम भने जसको नाममा चेक खिचिएको हो, सोही व्यक्तिको खातामा मात्र जम्मा गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार सरकारी भुक्तानी प्रणालीलाई थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको हो।




