·

नेप्से १९.२७ अंकले बढ्दै २६७४ विन्दुमा बन्द, कारोबार रकम ५ अर्ब नाघ्यो

Author

NEPSE TRADING

नेप्से १९.२७ अंकले बढ्दै २६७४ विन्दुमा बन्द, कारोबार रकम ५ अर्ब नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक वृद्धि हुँदै सकारात्मक रूपमा बन्द भएको छ। गत साताको सोमबारदेखि निरन्तर उकालो लागेको बजारले यस दिन पनि सोही गति कायम राखेको हो। आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.२२ अंक, फ्लोट इण्डेक्स १.२६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएका छन्। बजारमा कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमार्फत ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको र एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशतले वृद्धि भएको छ। यता हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदा अपि पावर कम्पनी र मञ्जुश्री फाइनान्स पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्। यस दिन सबै १३ उपसमूहका परिसूचक बढेका छन्, जसमा वित्त उपसमूह सर्वाधिक २.२२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

Related News