·
नेप्सेले दैनिक शेयर मूल्य सीमा १५ प्रतिशत पुर्यायो, सर्किट ब्रेकर प्रणालीमा संशोधन
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारलाई थप चलायमान र सक्रिय बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ । संशोधित नियमअनुसार व्यक्तिगत कम्पनीका शेयरको दैनिक मूल्य घटबढ सीमा १० प्रतिशतबाट १५ प्रतिशतमा बढाइएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अब कुनै पनि सूचीबद्ध कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। साथै, प्री-ओपन सेसन (बिहान १०:४५ देखि ११:०० बजेसम्म) को मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जसले नियमित बजार सुरु हुनु अघि वास्तविक मूल्य निर्धारणमा मद्दत पुर्याउनेछ । समग्र नेप्से इन्डेक्सका लागि सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ: कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र ५ प्रतिशत उतारचढाव आएमा १५ मिनेटको लागि बजार रोकिनेछ, र पुनः खुलेपछि ८ प्रतिशत उतारचढाव आएमा बाँकी समयका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि प्रयोग भएको ४, ५ र ६ प्रतिशतको तीन तहको प्रणाली हटाएर ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिएको हो । धितोपत्र बोर्डले आधिकारिक रूपमा विनियमावली अनुमोदन गरेको छ र प्राविधिक तयारी पूरा भएपछि नेप्से नयाँ व्यवस्था लागू गर्ने मिति घोषणा गर्नेछ । व्यक्तिगत कम्पनीको मूल्य सीमा १५ प्रतिशत पुर्याउँदा बजार थप अस्थिर हुन सक्ने भए पनि, यसले वास्तविक मूल्य पत्ता लगाउन र तरलता बढाउन सहयोग पुग्ने विश्लेषकहरूको भनाइ छ ।



