·

शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स

Author

NEPSE trading

शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स

अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको उमेरमै सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी सुरु गरेको ८ वर्षमै उनी म्यागेल्लन फन्डको पोर्टफोलियो म्यानेजर बनेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाएको थियो। १३ वर्षको अवधिमा, उनले फन्डको कुल पुँजी १८ मिलियनबाट १४ बिलियन डलरसम्म पुर्याए।

नयाँ र अनुभवी लगानीकर्ताले लिन्चबाट धेरै सिक्न सक्छन्। उनकी रणनीतिलाई वारेन बफेट, चार्ली मंगर, हावर्ड मार्क्सजस्ता ठूला लगानीकर्ताले पनि प्रशंसा गरेका छन्। यहाँ लिन्चका चार महत्वपूर्ण सुझाव प्रस्तुत गरिएका छन् :

१. दीर्घकालीन लगानी गर्नुहोस्

धेरै लगानीकर्ता सेयर बजारबाट छोटो समयमा धेरै कमाउन चाहन्छन्। कम मूल्यमा खरिद गरेर चाँडै नाफामा बेच्न चाहन्छन्। तर, लिन्चका अनुसार, बजारमा दीर्घकालीन लगानी गर्दा बढी मुनाफा हुन्छ। राम्रो लाभांश दिने कम्पनी छानेर लामो समयसम्म होल्ड गर्दा बजारले समयसँगै धेरै फाइदा दिन्छ। वारेन बफेटले पनि दीर्घकालीन लगानी गर्ने रणनीति अपनाएका छन्। उनले कोकाकोला कम्पनीको सेयर विगत ३३ वर्षदेखि होल्ड गरेका छन्।

२. धैर्यता हुनुपर्छ

सेयर बजार सधैँ बढ्दैन। धेरै लगानीकर्ता बजार बढ्दा खरिद र घट्दा बिक्री गर्छन्, जसले गर्दा घाटा बेहोर्छन्। छोटो अवधिका लागि बजारको भविष्यवाणी गरेर लगानी गर्नु लाभदायी हुँदैन। धैर्यवान लगानीकर्ताले लामो अवधिमा राम्रो कमाउन सक्छन्। बजारमा उतार-चढाव भए पनि धैर्यता राख्ने लगानीकर्ता नै सफल हुन्छन्।

३. खोज र अनुसन्धान गरेर लगानी गर्नुहोस्

धेरैजसो लगानीकर्ताले अरूको कुरा सुनेर लगानी गर्छन्। सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि लागेर सेयर खरिद गर्दा घाटा हुन्छ। कम्पनीको रिपोर्ट, पुँजी, नाफा–घाटा, सञ्चालकबारे अध्ययन गरेर लगानी गर्दा राम्रो मुनाफा हुन्छ। कम्पनीको आयस्रोत, वित्तीय अवस्था, प्रतिस्पर्धी, विस्तारको योजनाबारे जानकारी बिना लगानी गर्नु हुँदैन।

४. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्

सेयर बजारमा लगानी गर्दा आफूले बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्। बजारमा धेरै सेक्टरका कम्पनीहरू हुन्छन्। बैंकिङ, होटेल, हाइड्रो, बीमालगायत थुप्रै सेक्टर छन्। आफूले बुझेको कम्पनी भनेको के हो? यदि लगानीकर्ताले कुनै बैंकमा लगानी गर्दै छन् भने, उक्त कम्पनीका सञ्चालक, प्रतिस्पर्धी, नाफा, ग्राहक सेवा लगायत अन्य कुराहरू बुझेरमात्र लगानी गर्नुपर्छ। किन त्यो कम्पनीमा लगानी गर्ने भन्ने स्पष्ट हुनु पर्छ। यसरी मात्र सेयर बजारमा सफल लगानीकर्ता बन्न सकिन्छ।

यी चार सुझाव अपनाएर, पिटर लिन्च जस्तै सफल सेयर लगानीकर्ता बन्न सकिन्छ। दीर्घकालीन सोच, धैर्यता, गहिरो अध्ययन, र बुझेर लगानी गर्ने बानीले मात्र सेयर बजारमा सफलता हासिल गर्न सकिन्छ।

Related News