कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
Author
NEPSE TRADING

भक्तपुर । कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाबाट बैंकले शेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश उपलब्ध गराउने प्रस्ताव स्वीकृत भएको हो । यसअनुसार बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकले देशभर फैलिएको बृहत् शाखा सञ्जालमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी सभामा प्रस्तुत गरिएको थियो । हाल बैंकले मुख्य कार्यालयसहित २८५ वटा कार्यालयमार्फत अति दुर्गमदेखि सुगम क्षेत्रसम्म सेवा विस्तार गरेको र वाणिज्य बैंकहरूमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको बैंकले जनाएको छ ।
उन्नाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित नौ जना वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए । केही शेयरधनीहरूले लिखित मन्तव्य पनि प्रस्तुत गरेका थिए ।
शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको सभामा विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन तहका अधिकारी, कर्मचारी तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । सभामा सञ्चालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरागाँई र रीता सुवेदीसहित प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ उपस्थित थिए ।
साधारण सभाको सञ्चालन कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।



