·

सर्वोच्चको आदेश हटेपछि १० बैंकको लेखा परीक्षण प्रक्रिया अघि बढ्ने

Author

Nepse trading

सर्वोच्चको आदेश हटेपछि १० बैंकको लेखा परीक्षण प्रक्रिया अघि बढ्ने

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज गरेपछि १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण प्रक्रिया पुनः सुरु हुने भएको छ। IMF सँगको विस्तारित कर्जा सुविधा (ECF) अन्तर्गत नेपाल राष्ट्र बैंकले लेखा परीक्षणको प्रक्रिया थालेको हो। दोस्रोपटकको छनोट प्रक्रियामा बंगलादेशी फर्म हाउलादार युनुस एन्ड कम्पनीलाई चयन गरिएपछि प्रतिस्पर्धी फर्मले सर्वोच्चमा रिट दायर गरेको थियो। ९ असारमा संयुक्त इजलासले आदेश निरन्तरता नदिँदै प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।

अब हाउलादारसँग वित्तीय प्रस्ताव माग गरेर लेखा परीक्षण सुरु हुनेछ। प्रत्येक बैंकमा २ जना लेखा परीक्षक र २ जना राष्ट्र बैंक प्रतिनिधि रहने गरी २२ जनाको टोली खटिनेछ। यो परीक्षण कर्जामात्र होइन, सम्पूर्ण वित्तीय विवरणमा केन्द्रित हुनेछ। IMF ले नेपाली बैंकहरूमा खराब कर्जा लुकाउने (Evergreening) आरोप लगाउँदै पारदर्शिता सुनिश्चित गर्न लेखा परीक्षण आवश्यक ठानेको हो।

अदालतको निर्णयपछि IMF को विस्तारित कर्जा सुविधाको छैटौं किस्ता (४२.७ मिलियन डलर) स्वीकृत हुने पक्का भएको छ। योसँगै नेपालले ECF अन्तर्गत हालसम्म ४५ अर्ब ४५ करोड रुपैयाँ बराबरको कर्जा प्राप्त गर्नेछ। IMF ले २०२२ मा कुल ५४ अर्ब बराबरको निर्ब्याजी कर्जा दिने सहमति जनाएको थियो। यस अन्तर्गत नेपालले बैंकिङ सुधार, सम्पत्ति शुद्धीकरण तथा पारदर्शिता नीति कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ।

Related News