बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार शेयर निष्कासन गर्न बाटो खुलेको घोषणा गरेको छ । बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका’ नवौं संशोधन गर्दै यस्तो शेयर निष्कासनको विधि स्पष्ट गरेपछि अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले सम्बन्धित आवेदन पेश गर्न सक्ने भएका छन् ।
बैंकहरूलाई पुँजी कोषमा दबाब भइरहेको बेलामा आएको यो निर्णयले कर्जा प्रवाहको क्षमता बढाउने विश्वास गरिएको छ । हाल बैंकहरूसँग तरलता प्रशस्त भए पनि केही बैंकको प्राथमिक पुँजी अनुपात न्यून भएकाले थप कर्जा प्रवाहमा अवरोध भइरहेको छ । अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ मार्फत पूँजी वृद्धि गर्न बैंकहरू सक्षम हुनेछन् ।
यस सेयरको विशेषता:
अंकित मूल्य रू. १०० हुनेछ ।
संस्थापक शेयरधनीले मात्रै खरिदबिक्री गर्न पाउने ।
परिपत्र विधिमार्फत ५० भन्दा कम संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्न पाइने ।
सर्वसाधारण, धितोपत्र व्यवसायी तथा म्युचुअल फन्डले यस्ता शेयर खरिद गर्न नपाउने ।
लाभांश वितरणयोग्य मुनाफाबाट मात्र गर्न पाइनेछ, सञ्चित मुनाफा वा कोष प्रयोग गर्न नपाइने ।
सेयर फिर्ता वा साधारणमा रूपान्तरण राष्ट्र बैंकको प्रावधानअनुसार मात्र हुने ।
लाभांश दिने नदिने निर्णय बैंकको अधिकार हुनेछ, तर विवरणपत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
पूँजी पर्याप्तता अनुपात पूरा गर्न सहयोगी हुने, र ‘Additional Tier 1 Capital’ मा मात्र गनिने ।
धितोपत्र बोर्डको यो निर्णयले लामो समयदेखि प्रतिक्षामा रहेका बैंकहरूलाई अब पूँजी संकलनको वैकल्पिक उपाय प्रदान गर्नेछ । यसले आगामी मौद्रिक नीति र बैंकिङ क्षेत्रको स्थायित्वमा समेत सकारात्मक संकेत दिने विश्लेषण गरिएको छ ।