जेन–जी आन्दोलनको प्रभाव : मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने
Author
NEPSE TRADING

देशभर जेन–जी आन्दोलन चर्किएसँगै मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन्। सोमबारको प्रदर्शनमा राज्यले दमन गरेपछि आक्रोश बढेपछि सुरक्षालाई मध्यनजर गर्दै बैंकहरू बन्द गर्न लागिएको हो।
प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेको छ भने देशका विभिन्न सहरमा समेत कर्फ्यु लगाइएको छ। यस्तो अवस्थामा नेपाल बैंकर्स संघले मंगलबार बैंकका शाखा नखोल्ने निर्णय गरेको हो।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएअनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा मात्र नभई अन्य स्थानका बैंक शाखा पनि बन्द रहनेछन्।
बैंकरहरूले आन्दोलनको जोखिमका कारण बैंक तथा वित्तीय संस्थामा तोडफोड र आगजनीको खतरा रहेको निष्कर्ष निकालेका छन्।
सोमबारको प्रदर्शनमा राज्यद्वारा गरिएको हिंसात्मक कदमका कारण १९ जनाको मृत्यु भएको थियो भने सयौं युवा घाइते भएका थिए। मंगलबारको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।