·

बाराही हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा कात्तिक २० गते

Author

NEPSE TRADING

बाराही हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा कात्तिक २० गते

काठमाडौँ — बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा (AGM) आगामी कात्तिक २० गते, बिहीबारका दिन आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज २६ गते बसेको बैठकले उक्त मिति, स्थान र समय तोकेको हो। कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीहरूलाई सभामा उपस्थित हुन सूचना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार साधारण सभा भक्तपुरको सूर्यविनायक–८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा बिहान १२:१५ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभामा कम्पनीको आगामी योजनासँग सम्बन्धित विशेष प्रस्ताव पनि पेश गरिनेछ। हकप्रद शेयर जारी गर्दा प्राप्त रकमको उपयोग तथा जारी प्रक्रियामा हुने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव सभामा अनुमोदनका लागि पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते (एक दिन) शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअघि कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई प्राप्त विवरणको आधारमा दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्। शेयरधनीको हाजिरी पुस्तिका सभा सुरु हुनुभन्दा एक घण्टा अगावै अर्थात् बिहान ११:३० देखि १२:३० बजेसम्म खुला रहनेछ।

शेयरधनी आफैं उपस्थित हुन नसकेमा प्रतिनिधि (प्रोक्सी) तोकी सभामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। तर प्रोक्सीका रूपमा शेयरधनी नै हुनुपर्नेछ। गैर–शेयरधनीलाई प्रतिनिधि तोक्न पाइने छैन। कम्पनीले प्रोक्सी फाराम सभा हुनुभन्दा ४८ घण्टा अगावै आफ्नो रजिष्टर्ड कार्यालयमा दर्ता गराउनुपर्ने जानकारी दिएको छ। साथै, इलेक्ट्रोनिक माध्यमबाट पठाइएको प्रोक्सी फाराम पनि मान्य गरिने कम्पनीले स्पष्ट पारेको छ।

नाबालक शेयरधनीका हकमा लगतमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्ति सभामा भाग लिन वा प्रतिनिधि तोक्न सक्नेछन्। संस्थागत शेयरधनीहरूले भने अख्तियारीपत्रसहितको प्रतिनिधि पठाउनुपर्नेछ। संयुक्त नाममा शेयर रहने अवस्थामा कुनै एक शेयरधनीलाई पत्राचारका लागि तोक्नुपर्ने र पत्र नपाएमा लगतमा पहिलो नाममा उल्लेख भएको व्यक्तिलाई सभामा उपस्थित हुन अनुमति दिइनेछ।

कम्पनीले सभामा सहभागी हुन आउने शेयरधनीहरूले आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। साथै, सभासम्बन्धी थप जानकारीका लागि कम्पनीको कार्यालयमा सम्पर्क गर्न वा वेबसाइट www.barahihydropower.com.np हेर्न सकिने जनाएको छ।

Related News