बेनी हाइड्रोपावरले चैत १ देखि आईपीओ निष्काशन गर्ने
Author
NEPSE TRADING

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। जसअनुसार अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का बासिन्दाले ५ लाख २० हजार कित्ता, वडा नं. ५, ६, ७ र ११ का बासिन्दाले ३ लाख १२ हजार कित्ता र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दाले २ लाख ८ हजार कित्ता सेयर पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छिटोमा चैत १५ र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत ५ र ढिलोमा चैत १५ गतेसम्म आवेदन खुला रहनेछ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत १९ करोड ४७ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २४ वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ५.७८ वर्ष तथा छुट दरमा ८.१५ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।



