भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आज
Author
NEPSE TRADING

आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लमिटेड र सानिमा बैंक लिमिटेड — दुबैको वार्षिक साधारण सभा बस्दैछ। भगवती हाइड्रोपावरको २५औं वार्षिक साधारण सभा आज बिहान ११:०० बजे पोखराको आव्या क्लब, घारीपाटनमा सुरु हुँदैछ। सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
यससँगै, कम्पनीको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने, साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरेको थियो, जसअनुसार असोज २० गतेसम्मका शेयरधनीहरू लाभांशका हकदार रहेका छन्।
सानिमा बैंकको २१औं वार्षिक साधारण सभा आज बिहान १०:०० बजे काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा हुँदैछ। सभामा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंकले रु २ अर्ब बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (रु १०० अंकित मूल्यमा) जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।
बैंकले साधारण सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गरेको थियो, जसअनुसार असोज २६ गतेसम्मका शेयरधनीहरू लाभांशका हकदार छन्।