भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आईपीओ कहिले ?
Author
NEPSE TRADING

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक भूगर्भ सिमेन्ट लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्दै एक अर्ब रुपैयाँ बराबरको कम्पनी बन्ने तयारी अघि बढाएको छ। कम्पनीले आधुनिक रोटरी (क्लिंकर) प्लान्ट स्थापना गर्ने योजनासहित पुँजी संरचना विस्तारको प्रक्रिया तीव्र पारेको हो।
कम्पनीको सातौँ वार्षिक साधारणसभा गत पुस १ गते सम्पन्न भएको थियो। सभाले हालको ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। सो निर्णयअनुसार कम्पनीले संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि राखी हकप्रद सेयर निष्कासन गरिसकेको छ। हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीका अध्यक्ष नन्दीकेशर पौड्यालका अनुसार हकप्रदपछि कायम पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरी चुक्ता पुँजी एक अर्ब रुपैयाँ नजिक पुर्याउने योजना छ। सर्वसाधारणलाई सेयर जारी भएपछि कम्पनीको कुल पुँजी उल्लेखनीय रूपमा विस्तार हुने उनले जानकारी दिए।
यसअघि कम्पनीले १२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर, साधारणसभाबाट ६० प्रतिशत हकप्रद जारी गर्ने निर्णय भएपछि आईपीओ प्रक्रिया केही समय ढिलाइ भएको हो। यद्यपि, आगामी आईपीओको परिमाण बढ्ने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
हकप्रदबाट जुट्ने पुँजी प्रयोग गरी भूगर्भ सिमेन्टले ८०० देखि १,००० टन क्षमताको आधुनिक क्लिंकर उत्पादन गर्ने रोटरी प्लान्ट स्थापना गर्ने योजना बनाएको छ। हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ। कम्पनीले आधुनिक ड्राइ–प्रोसेस प्रविधि र प्रदूषण नियन्त्रण प्रणाली अपनाउँदै गुणस्तरीय र दिगो उत्पादनलाई प्राथमिकता दिएको जनाएको छ।
पश्चिम नेपालमा उच्च रुचि पाएको भूगर्भ सिमेन्टले “गर्भैदेखि बलियो” नारासहित गुणस्तरीय उत्पादन र दीगो औद्योगिक विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ। वि.सं. २०७३ मा स्थापना भएको उद्योग २०८० असार ७ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको सिमेन्ट कारखाना कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–०६ मा रहेको छ। साथै, ग्लोबल टेन्डरमार्फत अधिग्रहण गरिएको अर्घाखाँची जिल्लाको नरपानी–रखाचीकोट क्षेत्रमा चुनढुङ्गा खानी सञ्चालन भइरहेको छ।
करिब ८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको उक्त खानीमा १७८.९८ मिलियन मेट्रिक टन चुनढुङ्गाको भौगोलिक संचय रहेको छ, जसमध्ये १६१.०८ मिलियन मेट्रिक टन खानीयोग्य रहेको कम्पनीले जनाएको छ। भूगर्भ सिमेन्टले लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा काठमाडौं उपत्यकासम्म बजार विस्तार गरिसकेको छ।
कम्पनीले ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (OPC) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (PPC) आधुनिक प्रविधिबाट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको दैनिक सिमेन्ट उत्पादन क्षमता १,५०० मेट्रिक टन र क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन रहेको छ।
आर्थिक प्रदर्शनतर्फ, भूगर्भ सिमेन्टले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले वृद्धि हो। सन् २०२५ को पहिलो नौ महिनामै कम्पनीको कारोबार १ अर्ब १३ करोड ५० लाख रुपैयाँ नाघेको छ, जसले बजार माग र प्रभाव दुवैमा उल्लेखनीय वृद्धि देखाएको छ।
आगामी आर्थिक वर्षभित्र दैनिक उत्पादन क्षमता थप वृद्धि, नयाँ प्राविधिक उन्नयन, तथा गुणस्तर परीक्षण प्रणाली सुदृढ गर्दै ग्राहक सन्तुष्टि अझ मजबुत बनाउने लक्ष्य कम्पनीले लिएको छ। वातावरणमैत्री उत्पादन, स्थानीय रोजगारी सिर्जना, सुरक्षित कार्य वातावरण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भूगर्भ सिमेन्ट दीगो औद्योगिक विकासतर्फ अग्रसर रहेको कम्पनीले जनाएको छ।


