माघ १२ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्ने
Author
NEPSE TRADING

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकिएको छ।
अब कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ। आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। आयोजनाबाट कम्पनीले २०८१ साल बैशाख ६ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।


