·

चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो

Author

NEPSETRADING

चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो
वाणिज्य बैंकहरूले चैत २०८२ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित तथ्यांक अनुसार बैंकहरूको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा केही घटेको देखिएको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.५६ प्रतिशत रहेकोमा चैत महिनामा घटेर ४.४९ प्रतिशतमा पुगेको छ, जसले ०.०७ प्रतिशत बिन्दुले कमी आएको देखाउँछ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकहरूले आफ्नो ब्याजदर घटाएका कारण औसत ब्याजदर घटेको हो भने बाँकी १४ बैंकहरूले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। त्यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०३ प्रतिशत बिन्दुले घटेको छ। चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ, जसले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको छ। साथै स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन्।

Related News