बजेट सार्वजनिक हुने दिनमा भन्सार जाँचपास बन्द गर्न भन्सार विभागको निर्देशन
Author
NEPSE trading

भन्सार विभागले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुने दिन जेठ १५ गते (बिहीबार) सम्पूर्ण भन्सार कार्यालयहरुलाई वस्तु र सेवाको भन्सार जाँचपास कार्य रोक्न निर्देशन दिएको छ।
आर्थिक विधेयक मार्फत करका दरमा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले यस्तो निर्णय लिएको हो। संविधान अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमार्फत वार्षिक आय-व्यय विवरण सार्वजनिक गर्दै छन्। सो बजेटले नयाँ कर दर लागू गर्ने भएकाले त्यस दिन जाँचपास गर्दा भ्रम वा असमानता हुन सक्ने सम्भावनालाई टार्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।
निर्देशन अनुसार सो दिन यात्रु सम्बन्धी जाँचपासबाहेक अन्य सबै वस्तु र सेवाको जाँचपास प्रक्रिया रोक्न भनिएको छ। बजेटमार्फत तय हुने कर दर जेठ १६ गतेदेखि लागू हुने भएकाले त्यसअनुसार जाँचपास गर्दा ASYCUDA प्रणालीमा दर अद्यावधिक भएको नपाएको पुष्टि गरेर मात्र माल जाँचपास गर्न भनिएको छ।
यद्यपि २०८२ साल जेठ १४ गतेसम्म दर्ता भएका प्रज्ञापनपत्रमार्फत आयात हुने मालवस्तु भने आजै (जेठ १४ गते) भन्सार जाँचपास गर्न सकिनेछ। तर यदि ती प्रज्ञापनपत्रहरु आगामी बजेटमा परिवर्तन हुने कर दरमा पर्ने वस्तु सम्बन्धी छन् भने ती रद्द गरी नयाँ दररेट अनुसार नयाँ प्रज्ञापनपत्र भरी जाँचपास गर्नुपर्नेछ।
यसैगरी, पुराना प्रज्ञापनपत्रबाट घोषणा गरिए तापनि जाँचपास नभएका वस्तुहरूमा महसुल दरमा परिवर्तन भएमा त्यसको आधारमा पुन: महसुल गणना गरी असुली गरेर मात्र वस्तु जाँचपास गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिइएको छ।
भन्सार प्रशासनले सम्भावित कर विवाद र गलत जाँचपासबाट हुने राजस्व क्षतिलाई न्यूनीकरण गर्न यस्तो सावधानी अपनाएको बताइएको छ।