·

चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

Author

NEPSE TRADING

चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा झण्डाको अत्यधिक प्रयोग रोक्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रस्तावित आचारसंहितामा प्रचार सामग्रीको प्रयोगलाई कडाइका साथ सीमित गर्ने प्रावधान समेटिएको हो।

आयोगले प्रस्तावित आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग हुने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण गर्न यस्तो प्रबन्ध प्रस्ताव गरिएको आयोगको भनाइ छ।

प्रस्ताव अनुसार दल वा उम्मेदवारको कार्यालयमा साइनबोर्ड वा कपडामा बनाइएको तीनदेखि चार फिटसम्मको झण्डा र सोही आकारको चुनाव चिन्ह राख्न पाइनेछ। तर प्रचारप्रसारको नाममा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।

आचारसंहितामा दल वा उम्मेदवारको नाम र चुनाव चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न अनुमति दिने प्रस्ताव गरिएको छ। यसका साथै घरदैलो अभियानका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको समूह बनाएर जुलुस निकाल्न नपाइने उल्लेख गरिएको छ। प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित हिँडडुल गर्न पनि निषेध गर्ने प्रस्ताव गरिएको छ।

अनलाइन र डिजिटल माध्यममार्फत हुने प्रचारमा पनि कडाइ गर्ने आयोगको तयारी छ। प्रस्तावित आचारसंहिताअनुसार वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम वा काउन्टर, सडक नाटकजस्ता माध्यम प्रयोग गरी दल वा उम्मेदवारको प्रचार गर्न पाइने छैन। तर राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेवपेजमा मात्र प्रचार सामग्री राख्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसैगरी दलको झण्डा वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने उल्लेख छ। भित्तेलेखन गर्न वा गराउन, साथै चारपाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा, ठेलागाडालगायत कुनै पनि सवारी साधन प्रयोग गरी र्‍याली निकाल्न वा प्रचारप्रसार गर्न नपाइने प्रावधान पनि आचारसंहितामा समावेश गरिएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, शान्त, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन यस्ता व्यवस्था प्रस्ताव गरिएको जनाएको छ। प्रस्तावित आचारसंहिता कार्यान्वयनमा आएमा चुनावी प्रचारप्रसारको स्वरूप थप अनुशासित र व्यवस्थित हुने आयोगको विश्वास छ।

Related News