·

चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो

Author

NEPSE TRADING

चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो

साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार निरन्तर उकालो लाग्दै नेप्से परिसूचक उल्लेखनीय अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही सकारात्मक गति कायम राखेको हो। मुलुकमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिनसँगै राजनीतिक सरगर्मी बढ्दा लगानीकर्ताको मनोबल उच्च बनेको देखिएको छ, जसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर बजारमा परेको हो। ऐतिहासिक रूपमा निर्वाचनको समयमा बजारमा तरलता बढ्ने र लगानीकर्ताको सक्रियता बढ्ने अपेक्षाअनुसार यस दिन बजार उत्साहजनक देखिएको छ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ७.८२ अंक, फ्लोट इन्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८७ अंकले बढेको छ। कारोबार रकमतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३९ स्टकको १ लाख १५ हजारभन्दा बढी पटकको कारोबारबाट करिब ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा आँखु खोला जलविद्युत र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहँदा यस दिन १३ वटै उपसमूहका परिसूचक हरियालीमा देखिएका छन्, जसमध्ये होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी बढेको छ।

Related News