·

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

Author

NEPSE trading

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

काठमाडौं, पुस २४: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच आज अर्थ मन्त्रालयमा महत्वपूर्ण छलफल भएको छ।

भेटघाटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, द्विपक्षीय आर्थिक सहयोग, विकास वित्त र निजी क्षेत्रमा लगानी विस्तारजस्ता विषयमा छलफल केन्द्रित भएको थियो।

“नेपाल-अमेरिका सम्बन्धमा भएका परियोजनाको कार्यान्वयनका विषयमा विस्तृत छलफल भयो,” अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए। “अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी)मार्फत नेपालको निजी क्षेत्रमा भइरहेको लगानीलाई थप प्रभावकारी बनाउने र थप लगानी भित्र्याउने विषयमा पनि चासो व्यक्त गरियो। यसका लागि नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।”

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको बताए। उनले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन अमेरिकाबाट थप सहयोगको आवश्यकता रहेकोमा जोड दिए।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका अन्य देशहरूसँग तुलना गर्दा नेपालले आर्थिक स्थायित्व र वृद्धि कायम राख्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले नेपालमा आगामी दिनमा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस छलफलले नेपाल-अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

Related News