·
अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’
Author
NEPSE TRADING

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस खुवाउन, कामका लागि लाइन बस्न वा अनावश्यक रूपमा थुनिनु नपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग सोमबार भएको भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले लगानी र रोजगारी वृद्धि मार्फत देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए। “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। अर्थतन्त्रको दिशा परिवर्तन गरेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,” उनले भने।अर्थमन्त्री वाग्लेले राज्य र निजी क्षेत्रबीच सहकार्यको नयाँ वातावरण सिर्जना गरिने उल्लेख गर्दै अब व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गरिने बताए। “अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, उद्योगी–व्यवसायी थुनिनु पर्दैन,” उनले जोड दिए।उनले आर्थिक अनियमिततामा कडा दृष्टिकोण अपनाइने स्पष्ट पार्दै नियोजित बेइमानी गर्नेलाई भने कडा कारबाही गरिने चेतावनी दिए। सामान्य त्रुटिका हकमा भने थुनाभन्दा आर्थिक जरिवाना प्रणालीतर्फ जाने नीति अपनाइने उनको भनाइ छ।राज्यले सहयात्रीको भूमिका निर्वाह गर्ने सन्देश दिँदै उनले निजी क्षेत्रलाई पनि इमान्दार र पारदर्शी ढंगले काम गर्न आग्रह गरेका छन्।




