जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्नमाथि कारबाही गर्न महासंघको आग्रह
Author
NEPSE TRADING

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिमाथि छिटो कारबाही गर्न नेपाल प्रहरीसँग आग्रह गरेको छ। पछिल्लो घटनाक्रमले निजी क्षेत्र असुरक्षित महसुस गरिरहेको भन्दै महासंघले जिम्मेवारहरूलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन माग गरेको हो।
महासंघका पदाधिकारीहरूको टोलीले आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भेट गरी घटनासम्बन्धी जाहेरी नलिइएको जनाएको छ। व्यवसायीले प्रमाणसहित उजुरी दिए पनि जिल्लास्तरका प्रहरी कार्यालयले दर्ता गर्न मानेको छैन भन्ने गुनासो महासंघले IGP कार्कीसमक्ष राखेको थियो।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठका कारण निजी उद्योग–व्यवसायमा ठूलो क्षति पुगेको बताए। उनका अनुसार, आन्दोलनमा उठाइएका सुशासनका एजेन्डा आफैंले वर्षौँदेखि उठाउँदै आएको भए पनि पछिल्लो हिंसात्मक गतिविधिले निजी क्षेत्रको मनोबल कमजोर पारेको छ। ढकालले कानुनी राज्यको प्रत्याभूति नभए दण्डहीनता बढ्ने र लगानी वातावरण गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिए।
निवर्तमान अध्यक्ष शेखर गोल्छाले सुरक्षा बिना लगानी सम्भव नहुने उल्लेख गर्दै, शान्ति–सुरक्षाको प्रत्याभूति नहुँदा आर्थिक गतिविधि निरुत्साहित हुने बताए। उनका अनुसार, काठमाडौं बाहिरका व्यवसायीले बुझाएका जाहेरी समेत दर्ता नभएको गुनासो बढ्दो छ, जसले निजी क्षेत्रभित्र निराशा फैलिएको छ।
यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले यसपटक आन्दोलनका नाममा निजी क्षेत्रमाथि योजनाबद्ध आक्रमण भएको दाबी गरे। उनले स्थायित्व र शान्ति–सुरक्षा बिना आर्थिक गतिविधि चलायमान हुन नसक्ने बताउँदै, घटनाका दोषीलाई कानूनअनुसार कारबाही गर्न आग्रह गरे।
प्रहरी महानिरीक्षक कार्कीले शान्ति–सुरक्षा कायम राख्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गरे। उनले आन्दोलनको आवरणमा हिंसा, तोडफोड र आगजनीमा संलग्न जो–कसैलाई पनि प्रमाणका आधारमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्कीका अनुसार, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गर्न सबै जिल्लास्थित प्रहरी कार्यालयलाई निर्देशन दिइसकिएको छ।
भेटमा महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यसहितका पदाधिकारीहरूको उपस्थिति थियो।



