·
जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै
Author
NEPSE TRADING

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा घटेको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै उनलाई पक्राउ गरिएको हो।उक्त आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा भएको गोलीकाण्डमा किशोरहरूको ज्यान गएको घटनाले देशव्यापी विवाद निम्त्याएको थियो। त्यस समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका रिजालमाथि सुरक्षा निकायलाई गोली चलाउन निर्देशन दिएको आरोप लाग्दै आएको थियो।यद्यपि, आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गर्ने आदेश नदिएको दाबी गरेका थिए। तर आयोगको निष्कर्षले घटनामा प्रशासनिक नेतृत्वको जिम्मेवारी औंल्याउँदै कारबाहीको सिफारिस गरेको जनाएको छ।यसअघि सोही प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिइसकिएको छ। घटनाले राजनीतिक तथा कानुनी रूपमा संवेदनशील मोड लिएको छ भने अनुसन्धान प्रक्रिया अझै जारी रहेको जनाइएको छ।




