·

‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड

Author

NEPSE TRADING

‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड
काठमाडौं — ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानको यो चौधौँ संस्करण हो, जसले किशोर–किशोरी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए, जसले विद्यालय तहबाटै वित्तीय ज्ञान विस्तार गर्ने प्रयासलाई बलियो बनाएको छ।कार्यक्रम उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पैसा कमाउने, बचत गर्ने र त्यसको सही उपयोग गर्ने विषयमा परिवारबाटै शिक्षा दिनुपर्नेमा जोड दिए। उनले जुनसुकै पेशामा रहेका व्यक्तिका लागि पैसा समान रूपमा महत्त्वपूर्ण हुने भएकाले यसको व्यवस्थापन र सदुपयोगमा विशेष ध्यान दिनुपर्ने बताए।स्वागत मन्तव्य राख्दै कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनीले विद्यालयस्तरदेखि नै वित्तीय ज्ञान दिनु आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले वित्तीय साक्षरता र वित्तीय समावेशिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।कार्यक्रमको दोस्रो सत्रमा विभिन्न नियामक निकायका प्रतिनिधिहरूबीच प्यानल छलफल आयोजना गरिएको थियो। सो अवसरमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरण, सहकारी विभाग तथा नेपाल बैंकर्स एसोसिएसनका प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रका गतिविधि र सेवाबारे जानकारी दिँदै विद्यार्थीका जिज्ञासाको उत्तर दिएका थिए। समूहगत छलफलको सहजीकरण वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका कामु निर्देशक शिखा अधिकारी रेग्मीले गरेकी थिइन्।कार्यक्रममा सहभागी विद्यार्थीहरूबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई व्यवहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभर विभिन्न वित्तीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी तथा सम्बन्धित निकायले युवालक्षित कार्यक्रममार्फत वित्तीय शिक्षा विस्तार गर्ने योजना बनाएका छन्।अन्तर्क्रिया, प्रतियोगिता, श्रव्यदृश्य सामग्री प्रसारण तथा वित्तीय संस्थाको अवलोकन भ्रमणजस्ता कार्यक्रममार्फत बैंकिङ, पुँजीबजार, बिमा र सहकारीसम्बन्धी ज्ञान प्रवर्द्धन गरिनेछ।सन् २०१२ देखि विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ नेपालमा भने सन् २०१३ देखि नेपाल राष्ट्र बैंकको संयोजनमा मनाइँदै आएको छ। हालसम्म यस अभियानबाट विश्वका १७६ देशका सात करोडभन्दा बढी बालबालिका तथा युवाहरू लाभान्वित भइसकेका छन्।

Related News