·
नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै
Author
NEPSETRADING

काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । आइतबार दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले अब श्रमिकलाई सहज र छिटो सेवा प्रदान गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, श्रव्य–दृश्य सामग्री तयार गरी अनलाइन माध्यममा उपलब्ध गराउने, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्ने तथा न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने योजना अघि सारेको छ । साथै श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउने, औद्योगिक प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षामा जोड दिने, आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्यूनतम ज्याला र कार्यस्थल सुरक्षाको अध्ययन गरी न्यूनतम मापदण्ड तयार गर्ने तथा सबै प्रदेशमा सीप मेला सञ्चालन गरी रोजगारी प्रवर्द्धन गर्ने विषयमा समेत निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।



