नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्यो
Author
NEPSE trading

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो दिन पनि घटेको बजारले सोही ट्रेन्डलाई बिहीबार पनि निरन्तरता दिएको हो।
बिहीबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा पुगेको छ। बजार घट्नुपर्ने प्रमुख कारण जलविद्युत् क्षेत्रको उच्च कारोबार भए पनि त्यसमाथि देखिएको भारी सेल प्रेशर हो।
यद्यपि नेप्से घटे पनि कुल कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बुधबार ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३११ कम्पनीको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ।
पियोर इनर्जीको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। बिहीबार सो कम्पनीको शेयर मूल्य ७४ रुपैयाँ ९० पैसाले बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो।
त्यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ७ प्रतिशत नजिकले वृद्धि भएको छ भने रसुवागढी हाइड्रोपावर र तेह्रथुम पावरको मूल्य ५.९९ प्रतिशतले बढेको छ। सो दिन गुराँस लघुवित्तको शेयर मूल्य भने सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ।
कारोबार रकमको हिसाबले ङादी ग्रुप पावर शीर्ष स्थानमा देखिएको छ। सो कम्पनीको शेयर कारोबार १ अर्ब ८ करोड १४ लाख रुपैयाँ नाघेको छ। यस्तै, सानिमा माइ हाइड्रोको ७५ करोड र राधी पावरको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह ओरालो लागेको छ। होटल तथा पर्यटन समूह सर्वाधिक २.१४ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त, जलविद्युत् र म्युचुअल फण्ड समूह सामान्य रूपमा बढेका छन्। व्यापार समूह भने सबैभन्दा बढी १.०९ प्रतिशतले घटेको छ।
अब लागौं प्रविधिक विश्लेषणतर्फ
बुधबार बनेको “टुईजर टप“ क्यान्डलको लोभन्दा बिहीबारको क्यान्डल तल बन्द भएपछि उक्त टुईजर टप भ्यालिड भएको छ। यससँगै बजारले अर्को LH पनि बनाएको छ।
चार्टमा मिडल ब्यान्ड र ५० दिने मूभिङ एभरेज दुबैको ब्रेकडाउन भएको देखिन्छ। विशेष कुरा के छ भने—ब्रेकडाउनकै दिन कारोबार रकम लगभग तीन महिनायताकै उच्च देखिएको छ, जसले ब्रेकडाउनलाई बलियो पुष्टि गर्छ।
RSI पनि ५० भन्दा तल झरेको छ, जसले बजारमा बाइङ मोमेन्टम कमजोर भएको जनाउँछ। साथै, बजारमा देखिएको डेथ क्रसओभर अझै जारी छ, जुन दीर्घकालीन नकारात्मक भएको दावी गरिएको छ।
दिनभर स्थिर देखिएको बजार अन्तिम समयतिर जलविद्युत् समूहमा ठुलो सप्लाई देखियो, जसले बजारलाई थप दबाबमा राख्यो।
अर्को गम्भीर संकेत के छ भने, लगातार केही दिनदेखि बजारको अन्तिम १५ मिनेटको ट्रेडिङमा १५ मिनेटको औसत वेटेजले परिसूचकलाई ३–४ अंकले घटाएको छ।
यसले अन्तिम समयमा बिक्रेताहरू किन्नेलाई दबाबमा पारिरहेका छन्, जुन बजारका लागि सकारात्मक संकेत होइन।
अब लागौं ब्रोकरको विश्लेषणतर्फ
आजको बजारमा ब्रोकरको अवस्था हेर्दा टप कारोबार गर्ने १० ब्रोकरमध्ये ७ वटा ब्रोकरले सेलभन्दा बढी बाइ गरेको देखिन्छ भने ३ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन्।
बजार घटे पनि ठूला ब्रोकरको खरीद दरले बजार माथि जान सक्ने हो कि भनेर केही विश्लेषकले विश्लेषण समेत गरेका छन्।