इटहरीमा क्रिप्टोकरेन्सी, हुन्डी र अनलाइन जुवामा संलग्न ६ जना पक्राउ
Author
NEPSE trading

अवैधरूपमा क्रिप्टोकरेन्सी, हुन्डी तथा अनलाइन गेमिङमार्फत करोडौँको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीबाट ६ जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रदेश अनुसन्धान टोली (पीआइटी) ले विशेष अपरेसनमार्फत उनीहरूलाई तीन दिनभित्र इटहरी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले जनाए अनुसार पक्राउ परेकाहरूले डेढ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेका थिए।
पक्राउ परेकाहरूमा सुनसरीको इटहरी–१२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरी, इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोष कुमार साह, इटहरी–११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास र इटहरी–१२ का ३२ वर्षीय लालबहादुर गौतम रहेका छन्।
प्रहरीका अनुसार दुई समूहमा विभाजित उक्त गिरोहको एक समूहको नेतृत्व प्रभु नारायण र प्रशिन चौधरीले गरेका थिए भने अर्को समूह सन्तोष कुमार साहले चलाएका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले बाइनेन्स क्रिप्टो वालेट र क्यास एप प्रयोग गरी अमेरिकी डलर, भारतीय रुपैयाँ र नेपाली रुपैयाँको अवैध सटही गर्ने, अनलाइन जुवा खेलाउने र तेस्रो पक्षको कारोबारमा सहजीकरण गर्ने कार्य गर्दै आएका थिए। यसका लागि उनीहरूले प्रतिकेसमा ५ देखि २० प्रतिशतसम्मको कमिसन लिने गरेको पाइएको छ।
उनीहरूको अस्वाभाविक रूपमा खर्चिलो जीवनशैलीप्रति प्रहरी शंकित रहँदै आएको थियो। प्रहरीका अनुसार प्रभु यसअघि पनि मोरङबाट हुन्डी कारोबारकै आरोपमा पक्राउ परेका थिए।
पक्राउ परेकाहरूको साथबाट उच्च प्रोसेसरयुक्त मोबाइल सेटहरू बरामद गरिएको छ। प्रभुको साथबाट दुई थान र प्रशिनको साथबाट एक थान मोबाइल फेला परेको छ। उनीहरू घरमै बसेर यस्तो कारोबार सञ्चालन गर्दै आएका थिए भने हालै मात्र आलिसान घरसमेत बनाएका थिए।
नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी भौतिक क्रिप्टोको कारोबार गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।