आईएमएफको सुझाव: निष्क्रिय कर्जा बढ्दै जाँदा वित्तीय क्षेत्रमा सतर्कता आवश्यक
Author
NEPSE TRADING

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा बढ्दो निष्क्रिय कर्जाका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै सतर्क रहन सुझाव दिएको छ । विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत सातौँ समीक्षाका लागि काठमाडौं आएको टोलीले हाल बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.४ प्रतिशत पुगेको र आगामी दिनमा अझै बढ्न सक्ने सम्भावना रहेको जनाएको छ । आईएमएफका अनुसार यसले बैंकहरूको पुँजीमा नकारात्मक असर पार्न सक्ने भएकाले कर्जा वर्गीकरण, प्रोभिजनिङ तथा सम्पत्ति गुणस्तरको सही मूल्यांकन गर्न नियामक प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता छ । गभर्नर विश्वनाथ पौडेल नेतृत्वको नेपाल राष्ट्र बैंकसँगको छलफलपछि आईएमएफले खराब कर्जा असुली सुधार, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, तथा राष्ट्र बैंक ऐन संशोधनमार्फत केन्द्रीय बैंकको स्वायत्तता सुदृढ गर्न सुझाव दिएको छ । साथै, कार्यकारी बोर्डको स्वीकृति पछि नेपालले करिब ४३.२ मिलियन अमेरिकी डलर सहायता प्राप्त गर्ने जनाएको छ । आईएमएफले राजनीतिक अनिश्चितता, कमजोर पुँजीगत खर्च, र वित्तीय जोखिमका कारण आर्थिक वृद्धिमा दबाब रहने चेतावनी दिँदै सुधार प्रक्रिया निरन्तर जारी राख्नुपर्नेमा जोड दिएको छ ।


