कर नतिर्ने उद्योगी मोतीलाल दुगडसहित १०१ फर्मलाई आन्तरिक राजस्वको सूचना
Author
NEPSE trading

आन्तरिक राजस्व कार्यालय विराटनगरले कर नतिर्ने उद्योगी तथा व्यवसायीहरूलाई कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा नेकपा एमालेका पूर्वसांसद मोतीलाल दुगडका कम्पनीहरू पनि समावेश छन्।
गत फागुन २० गते जारी १५ दिने सूचनामा १०१ व्यावसायिक फर्म र कम्पनीको नाम उल्लेख छ। यसमा दुगडका एसिया केमिकल कम्पनी प्रालि (विराटनगर–१४), एसियन केम प्रालि (विराटनगर–१७) र ह्यारिसन प्यालेस प्रालि (विराटनगर–२) को नाम पनि परेको छ। ओलीले २०७७ मा दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए, तर पछिल्लो कार्यकालमा उनले कुनै जिम्मेवारी पाएका छैनन्।
यस्तै, भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि कर तिरेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाष बोहराको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दाखिल गरेको छैन। त्यस्तै, व्यापारी पवनकुमार राठीको सनराइज पेपर मिल्स र हंसराज जैनको अरिहन्त कम्पनीसहित २१ कम्पनीले पनि कर नतिरेको सूचनामा उल्लेख छ।