१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सकियो, बंगलादेशी अडिटरद्वारा गहिरो मूल्यांकन
Author
NEPSE TRADING

नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकको पहलमा सुरु गरिएको यो परीक्षण बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले सम्पन्न गरेको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)सँगको विस्तारित कर्जा सुविधा सम्झौताअनुसार नेपालले बैंकिङ क्षेत्रको सम्पत्ति गुणस्तर मूल्यांकन गर्नुपर्ने प्रतिबद्धता जनाएपछि सो प्रक्रिया अघि बढाइएको हो।
अडिटरको टोली नेपालमै आई सबै बैंकको स्थलगत निरीक्षणमा जुटेको थियो। टोलीमा राष्ट्र बैंकका प्रतिनिधिहरू समेत सहभागी भइरहेका थिए। संयुक्त टिमले हरेक बैंकमा कर्जा फाइलहरूको अध्ययन, कोर बैंकिङ प्रणालीको परीक्षण, परियोजना लगानीको वास्तविक अवस्था र कर्जा भुक्तानी प्रक्रियाको अवलोकनसहित विस्तृत मूल्यांकन गरेको बताइएको छ। यो प्रक्रियामा करिब साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर नापजाँच गरिएको स्रोतका भनाइ छ।
गत चैतको वासलताका आधारमा उच्च कर्जा लगानी भएका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया गरी १० बैंक परीक्षणको दायरामा समावेश गरिएका थिए। बैंकहरूले प्रवाह गरेका कर्जाको सदुपयोग कत्तिको भएको छ, ऋणीले परियोजना सञ्चालन कस्तो अवस्थामा अघि बढाइरहेका छन्, भुक्तानी प्रणाली कत्तिको प्रभावकारी छ—जस्ता प्रमुख पक्षहरू रिभ्युको मुख्य आधार बनेका छन्।
अध्ययन प्रतिवेदन केही दिनभित्र नेपाल राष्ट्र बैंकलाई बुझाइने तयारी गरिएको छ। परीक्षणका क्रममा कुनै कर्जा फाइलमा कमी–कमजोरी वा कैफियतको संकेत भेटिएमा राष्ट्र बैंकले सम्बन्धित बैंकलाई आवश्यक स्पष्टीकरण र सुनुवाइको अवसर दिनेछ। यस रिभ्युद्वारा बैंकिङ प्रणालीको जोखिम व्यवस्थापन क्षमता र सम्पत्तिको वास्तविक गुणस्तरबारे स्पष्ट तस्वीर प्राप्त हुने अपेक्षा गरिएको छ।


