एमसीसी परियोजनाका लागि सन् २०२६ को बजेट प्रस्ताव, परियोजना पुनः अघि बढ्ने संकेत
Author
NEPSE trading

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ का लागि २२ करोड ४० लाख अमेरिकी डलरको बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावसँगै, गत जनवरीमा स्थगित गरिएको एमसीसी परियोजना फेरि अघि बढ्ने संकेत देखिएको छ।
एमसीसीले आफ्नै वेबसाइटमा सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, प्रस्तावित बजेट अघिल्ला वर्षहरूको तुलनामा निकै घटाइएको छ। सन् २०२५ मा एमसीसीको बजेट ९३ करोड डलर थियो, जुन तुलनामा यो वर्षको प्रस्ताव झन्डै तीन चौथाइले घटाइएको छ। बजेट कटौतीको असर नेपाललगायत साझेदार देशका परियोजनामा पर्न सक्ने देखिन्छ।
प्रस्तावित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा प्रशासनिक खर्चतर्फ केन्द्रित गरिएको छ। यसतर्फ १२ करोड ८० लाख डलर छुट्याइएको छ भने, कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ।
गएको जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि एमसीसी परियोजनालाई ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए। नयाँ बजेट प्रस्तावसँगै अब परियोजना पुनः गति लिन सक्ने अनुमान गरिएको छ।