एक करोडभन्दा माथिका बिगोमा मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान हुने
Author
Nepse trading
महान्यायाधिवक्ता कार्यालयले अब एक करोड वा त्यसभन्दा बढी बिगो भएका पैसा वा सम्पत्तिसँग सम्बन्धित मुद्दामा मात्रै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा अनुसन्धान गरिने जनाएको छ। गत वर्ष चैतमा मनी लाउन्डरिङ ऐन २०६४ संशोधन भएपछि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान र अभियोजनको अधिकार सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीमा समेत विस्तार भएको छ। महान्यायाधिवक्ता रमेश बडालका अनुसार यो अधिकार विस्तारले जथाभावी सम्पत्ति शुद्धीकरण मुद्दा लगाउने अवस्था नरहने र अनुसन्धान व्यवस्थित हुने विश्वास गरिएको छ।
शुक्रबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता बडालले अनुसन्धान र अभियोजन गर्ने निकायको संख्या बढे पनि त्यसबाट डराउनुपर्ने अवस्था नभएको बताए। उनका अनुसार एक करोडभन्दा माथिको बिगो भएका मुद्दामा मात्र सम्पत्ति शुद्धीकरण कसुर लागू हुने र कम बिगोका मुद्दामा यो कसुर आकर्षित नहुने स्पष्ट गरे। माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका रूपमा मनाउने परम्पराअनुसार आयोजित कार्यक्रममा यो विषयमा थप छलफल गरिएको थियो।