नेपाल बैंकको नाफामा १८३ प्रतिशतको वृद्धि, इम्पेयरमेन्ट चार्जमा भारी गिरावट
Author
NEPSE TRADING

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ, जसको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको ठूलो कमी हो। बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतको वृद्धि देखाएको हो।
गत आर्थिक वर्षको यो अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद नाफामा आएको तीव्र सुधारको मुख्य कारण भने इम्पेयरमेन्ट चार्जमा आएको भारी गिरावट हो।
पछिल्लो वर्षको पहिलो ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ।
ब्याज र गैर-ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ। यसको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा आएको तीव्र कमी हो।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ, जबकि खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेर ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
यसको परिणामस्वरूप, बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ, तर कुल सञ्चालन आम्दानी भने १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँमा सीमित रहेको छ।
नाफा वृद्धिसँगै, बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। तथापि, बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले तत्काल लाभांश वितरणको संभावना कमजोर बनाएको छ।
पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ र मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५७ गुणा कायम रहेको छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ, र जगेडा कोष ४.१२ प्रतिशत बढेर २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको निक्षेप ९.८७ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा र सापटी ४.४४ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ नाघेको छ।



