·

नेपाली नागरिकले भारत भ्रमणमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सहज हुने

Author

NEPSE TRADING

नेपाली नागरिकले भारत भ्रमणमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सहज हुने

नेपाली नागरिकहरूले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत भुक्तानी गर्न अझ सहज हुने भएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटमा यस सम्बन्धी व्यवस्थालाई थप सहजीकरण गर्ने विषयमा छलफल भएको हो।

गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा भएको भेटघाटमा नेपाल–भारतबीचको अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली, क्यूआर आधारित कारोबार र दुईपक्षीय हितका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ। भेटमा विशेषगरी भारत भ्रमणका क्रममा नेपाली नागरिकले क्यूआर कोडमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने वातावरण निर्माणमा जोड दिइएको थियो।

छलफलका क्रममा मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सुपरिवेक्षण र सूचना प्रविधि क्षेत्रमा आरबीआईले अपनाएका असल नीतिगत अभ्यासबारे पनि जानकारी आदानप्रदान भएको बताइएको छ।

भेटवार्तामा वित्तीय क्षेत्रका समसामयिक र उदीयमान विषयसँगै दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। सो अवसरमा नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले आ–आफ्ना विभागसँग सम्बन्धित विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने धारणा राखेका थिए।

भारत भ्रमणकै क्रममा गभर्नर पौडेलले गुजरातको अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ (आईएफएससीए) का उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी (गिफ्ट सिटी) को अवधारणा, वर्तमान अवस्था, लगानी प्रवर्द्धनका लागि अपनाइएका नीतिहरू तथा नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको जनाइएको छ।

Related News