नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, डा. रोशन राठी अध्यक्ष निर्वाचित
Author
NEPSE TRADING

काठमाडौं – नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले राजधानीमा सम्पन्न आफ्नो साधारण सभा मार्फत डा. रोशन राठीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। साधारण सभामा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।
सभाको अध्यक्षता निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानले गरेका थिए। उनले द्विपक्षीय व्यापार र आर्थिक सहकार्य सुदृढ बनाउन सङ्घले आगामी वर्षहरूमा अघि बढाउने रणनीति र योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। विशेष गरेर यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेडको पुनः सक्रियतासँगै नेपाल–बेलायतबीच व्यवसायिक साझेदारी झनै मजबुत भएको उनीहरूको भनाइ थियो।
कार्यक्रमको मुख्य आकर्षणमा राजेन्द्र कुमार खेतानलाई “प्रेसिडेन्ट एमेरिटस” उपाधिद्वारा सम्मान गरिएको थियो। साधारण सभाले उनको संस्थागत नेतृत्व, दीर्घकालीन योगदान तथा सङ्घलाई सबल रूपमा पुनर्स्थापना गर्न खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दै कृतज्ञता प्रकट गर्यो।
नवगठित कार्यकारिणी समिति वित्त, बैंकिङ, व्यापार, उद्यमशीलता, विकास क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीका अनुभवी व्यक्तिहरूको संयोजन रहेको छ। यस विविध नेतृत्वले नेपाल–बेलायतबीच व्यापार र लगानी साझेदारीलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष डा. रोशन राठीले सदस्यहरूले दिएको विश्वासप्रति आभार प्रकट गर्दै व्यापार प्रवर्द्धन, बजार पहुँच विस्तार, लगानी प्रोत्साहन तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्न आफू प्रतिबद्ध रहने बताए।
सन् १९९५ मा स्थापना भएको नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ नेपालमा क्रियाशील प्रमुख द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूमध्ये एक हो। विगत ३० वर्षदेखि सङ्घले व्यापार तथा लगानी प्रवर्द्धन, निजी क्षेत्रलाई जोड्ने, नीति संवादमा सहकार्य गर्ने, निर्यात विस्तार, प्रविधि हस्तान्तरण र व्यापारिक प्रतिनिधिमण्डल आदान–प्रदानजस्ता विविध गतिविधि गर्दै आएको छ। सङ्घ दुवै देशबीच दीर्घकालीन साझेदारी र दिगो आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण सेतुको रूपमा सक्रिय रहँदै आएको छ।
साधारण सभाले सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति यस प्रकार अनुमोदन गरेको छः
अध्यक्ष : डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लि.)
उपाध्यक्ष : पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक लि.)
कोषाध्यक्ष : विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड)
महासचिव : सरद बञ्जारा (जेनेस सोलुसन्स)
उप–महासचिव : गोविन्द शाही (युनिलिभर नेपाल लि.)
कार्यकारिणी सदस्य : येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.)
कार्यकारिणी सदस्य : शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेशनल)
कार्यकारिणी सदस्य : नीलु बस्न्यात (डीएआई ग्लोबल)
निवर्तमान अध्यक्ष : राजेन्द्र कुमार खेतान (लक्ष्मी कर्प)


