·

नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा

Author

NEPSE TRADING

नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा

काठमाडौं— करिब २०० बाउन्सर, कडा प्रहरी घेरा, सेयरधनीलाई नै धम्की र उम्मेदवारलाई प्रवेश निषेध। सोमबार बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा कम्पनीको इतिहासमै सबैभन्दा विवादित र सनसनीपूर्ण बनेको छ।

बिहान १० बजे सुरु भनिएको सभास्थल बाहिर सेयरधनीहरूको भीड थियो, तर भित्र छिर्ने अनुमति केही सीमित व्यक्तिलाई मात्र। सर्वसाधारण सेयरधनी र सञ्चारकर्मीलाई प्रवेश नदिइँदा सभास्थल नाइट क्लबको सुरक्षा व्यवस्थाजस्तै देखिएको आरोप लगानीकर्ताहरूले लगाएका छन्। “सेयरधनी आफ्नै कम्पनीको सभामा छिर्न नपाउने, तर निजी बाउन्सर र सुरक्षा गार्डको रिंग—यो कस्तो सुशासन?” एक आक्रोशित लगानीकर्ताले प्रश्न गरे।

लगानीकर्ताहरूका अनुसार प्रोक्सी कागजातमा नक्कली हस्ताक्षर भएको आशंका उठाउँदा त्यसैलाई बहाना बनाएर सेयरधनीलाई बाहिरै रोकिने रणनीति अपनाइयो। उम्मेदवार बनेका केही सेयरधनीलाई नै प्रवेश निषेध गरिएपछि विवाद झन् चर्कियो। “महँगोमा सेयर बेच्ने समूहलाई प्राथमिकता, होल्ड गर्ने सेयरधनीलाई बाइपास—यो खुला भेदभाव हो,” एक सेयरधनीले भने।

सभास्थलमा व्यापक सुरक्षाको आडमा सभा जबरजस्ती अघि बढाइएको आरोप छ। लगानीकर्ताहरूले यस्तो शैलीले कम्पनीभित्र मनपरी निर्णय र संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। “६ करोडको चलखेल लुकाउन आफ्नै गोजीका मान्छेहरू सञ्चालकमा नियुक्त गरिएको शंका छ,” लगानीकर्ताहरूको दाबी छ।

यसअघि पनि पुस २८ र माघ ८ गते बोलाइएका साधारण सभा विभिन्न कारण देखाउँदै स्थगित गरिँदै आएको थियो। पटक–पटकको स्थगनपछि अन्ततः सम्पन्न भएको सभा विवादको आँधीबीच सकिएको छ।

अब पीडित सेयरधनीहरू अदालत जाने तयारीमा छन्। उनीहरूको भनाइ स्पष्ट छ—“सेयरधनीलाई धम्क्याएर, ढोका बन्द गरेर चलाइएको सभा स्वीकार्य छैन। कानुनी लडाइँ अपरिहार्य भइसकेको छ।”

Related News