मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन
Author
NEPSE TRADING

कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र ३ हजार ७३२ जना विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन्।
सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेको प्रहरीले जनाएको छ। तिहार तथा छठ पर्वको बिदालाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीय भ्रमणका लागि देशभित्रका विभिन्न स्थानबाट मुस्ताङ आउने पर्यटकको भीड देखिएको हो।
तर, कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ पुगेका ४ हजार ५९८ पर्यटक मध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा भने हिमपातका कारण असहज बनेको छ। सोमबार रातिदेखि परेको वर्षा र बाक्लो हिमपातले कागबेनी–मुक्तिनाथ सडकखण्ड तथा मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्मको पैदलमार्ग अवरुद्धजस्तै बनेको छ।
हिमपातका कारण मुक्तिनाथ क्षेत्रको तापक्रम तीव्र रुपमा घटेको छ भने स्नानकुण्ड र १०८ धारा जमेकाले भक्तजनलाई धार्मिक स्नान तथा पूजाआजामा कठिनाइ भोग्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै १ लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ प्रवेश गरिसकेका छन्, जसले मुस्ताङको पर्यटन गतिविधि पुनः सक्रिय बन्दै गएको संकेत दिएको छ।



